यो अध्याय समुदायका लेखक तेजेन्द्र ताजपुरियाको विवरणमा आधारित छ१। ग्रामपूजा र कुलपूजा विवाह र मृत्युसंस्कार दुवैमा अनिवार्य हुन्छन्२।
जन्म
सुत्केरीलाई कोठाभित्र राखिन्छ र तुरुन्त सुँढेनी (मेझ्यानी) बोलाइन्छ; सालनाल सुँढेनीले काट्छिन्। धामी–झाँक्रीबाट झारफुक पनि चल्छ — तर अहिले व्यथा लाग्नेबित्तिकै अस्पताल लगिन्छ। बच्चा जन्मेको दुई–तीन दिनमै हजामको खुर–कैँचीको पानी छर्केर घर–आँगन लिपपोत गरी चोखिन्छ।
विवाह
विवाहका प्रकारमा मागी विवाह र भागी विवाह (बिदभाङा) प्रचलित छन्; दामदुम, घनजिया र डङुवा पनि छन्। करुह्वा (लमी) ले केटी माग्न जान्छ; सहमति भए केटीपक्षले दुलहा हेर्छ र डालिखरा (फूलमाला) साटेर पक्का हुन्छ। बैशाखदेखि असारसम्म पात्रो हेरेर साइत जुराइन्छ। विवाह तीन दिन चल्छ:
- हल्दी — सत्यनारायण पूजा; कुलदेवता र ग्रामदेवता जगाइन्छ; विवाहित दिदीबहिनीले काँचो बेसार पिँध्छन् र बुढापाकाले दुलहालाई लगाइदिन्छन्।
- कासाकुटा — दिदीबहिनीले कासा (जडीबुटी, औषधि, अत्तर) भुटेर कुटी तोरीको तेलमा मिसाई बेहुला–बेहुलीलाई लगाइदिन्छन्; जलढाल्लामा बुढापाकाले सानो माटोको गाग्रोबाट पाँचपटक शिरमा पानी खन्याउँछन्।
- सम्भर / कुमरमर — विवाहको मूल दिन। दुलहाले आँपको रूख पाँचपटक परिक्रमा गरी टाउको जुधाउँछ; दुलहीले पनि त्यसै गर्छिन्। विदमा दुलही रुँदै दहीको लदिया बोकेर आउँछिन्; त्यसपछि कन्यादान, उचकरन र सिन्दुरदान हुन्छ।
त्यसपछि सम्धी लगाउने, आठवारी र बसौनी हुन्छन्। ताजपुरिया विवाहमा बेहुला–बेहुलीले शिरमा ताज लगाउनु अनिवार्य हुन्छ — यसैबाट 'ताजपुरिया' नाम आएको समुदायको भनाइ छ।
यो चलन पुरानो र कोच परम्पराको हो: सन् १८९१ मा रिजलेले कोच विवाहमा 'पूरै विधिभर बेहुला–बेहुलीले सोलाको अग्लो मुकुट वा टोपी लगाउँछन्' भनी अभिलेख गरेका छन्३।
मृत्यु
नाबालक भए गाड्ने र अरूलाई जलाउने चलन छ। लासलाई उत्तर शिरान र दक्षिण खुट्टा पारेर मचली (घारो) मा घाटसम्म लगिन्छ; दागबत्ती दिनेले क्रियापुत्रीको रूपमा बस्नुपर्छ। चौथो दिन (तारात) चेलीबेटी, दशौँ दिन (दसक्रम) वंशका मानिस चोखिन्छन्। बाह्रौँ दिन (मठ) बाहुनले पाँचदान लिन्छन्, र साँझ धामी–झाँक्रीले जीव चलानी गर्छन्। तेह्रौँ दिन (भोज) मांसाहारी भोज हुन्छ र गच्छेअनुसार धेमाली दिइन्छ।